एजेन्सी । पहिलो टी–ट्वान्टी क्रिकेटमा इङ्ल्याण्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसंगै तीन म्याचको सिरिजमा घरेलु टोली इङ्ल्याण्ड १–० ले अघि बढेको छ ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । ओपनरद्धय डेबिड वार्नरले ५८ र आरोन फिन्चले ४६ रन बनाउँदै पाहुना टोलीलाई राम्रो सुरुवात दिलाएका थिए ।
तर मध्य र तल्ला क्रममा ब्याट्सम्यान चल्न नसक्दा पाहुना टोली पहिलो खेलमै पराजित बन्यो । स्टेभन स्मिथले १८ र मार्कुस स्टोनिसले अविजित २३ रन बनाएका थिए ।
इङल्याण्डका जोफ्रा आर्चर र अदिल रासिदले समान २–२ विकेट लिए । मार्क हुडले १ विकेट चट्काएका थिए ।
यसअघि सुरुवाती ब्याटिङ गरेको इङ्ल्याण्डले ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । डविड मेलनले ६६ रन बनाएको इनिङ्समा जोस बटलरले ४४ रनको योगदान दिएका थिए । क्रिस जोर्डनले अविजित १४ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ग्लेन म्याक्सवेल, केन रिचर्डसन र एस्टन अगरले समान २–२ विकेट लिए । माट कुमिन्सले १ विकेट हात पारे ।
दोस्रो खेल भोलि (आईतबार) सोही मैदानमा खेलिनेछ ।
अष्ट्रेलियाले टी(ट्वान्टी सिरिजपछि एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।