एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सीपीएल अन्तर्गत शुक्रबार राति बर्बाडोस ट्राइडेन्स गुएना एमेजोन वारिवर्ससँग पराजित भएपछि सन्दीप आबद्द जमैका सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगितामा जमैकाले २ खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो । जमैकासँगै गुएना, ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जोउक्सले सेमिफाइनलमा स्थान बनाएका छन् ।
बर्बाडोस र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियट्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
जमैका ८ खेलमा ३ जित सहित ६ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ । यस्तै नाइट राइडर्स ८ खेलमा ८ जितका साथ १६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
गुएना १० खेलमा ६ जित निकाल्दै १२ अंक बनाएर तालिकाको दोस्रो स्थानमा छ । यस्तै सेमिफाइनल पुग्ने अर्को टिम सेन्ट लुसिया ८ खेलमा १० अंक जोड्दै तेस्रो स्थानमा छ ।
दुई खेलमा मात्र जित निकालेको बार्बडोस ४ अंक जोड्दा तालिकाको पुछारबाट दोस्रो र प्याट्रियट्स १ खेल जित्दै ३ अंक बनाएर तालिकाको पुछारमा छन् ।
सेमिफाइनल खेल सेप्टेम्बर ८ बाट हुनेछ । लिग चरणमा शीर्ष हुने टिमले सेमिफाइनलमा तालिकाको चौथो हुने टिमसँग खेल्ने छ । यस्तै दोस्रो सेमिफाइनलमा तालिकाको दोस्रो र तेस्रो स्थान बनाउने टिम भिड्ने छन् ।