एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको पहिलो टी-ट्वान्टी आज (शुक्रबार) हुँदैछ ।
तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेल साउथह्याम्पटनमा हुनेछ ।
इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
द रोस बल मैदानमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
दुबै टिमले सिरिज जित्ने लक्ष्य रहेको बताईसकेका छन् ।
इयान मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड उच्च लयमा रहेको छ । इंग्ल्यान्डले लगातार सिरिज खेलिरहेको छ ।
इंग्ल्यान्डको यो दोस्रो टी-ट्वान्टी सिरिज हो । यसअघि इंग्ल्यान्डले पाकिस्तानसँग टी-ट्वान्टी सिरिज खेलेको थियो । उक्त सिरिज १-१ को बराबरीमा सकिएको थियो ।
अष्ट्रेलिया भने लामो समयपछि अन्तराष्ट्रिय खेलमा फर्कन लागेको हो । कोरोना भाईरसको महामारीपछि अष्ट्रेलियाको यो पहिलो सिरिज हो ।
अष्ट्रेलियाले टी-ट्वान्टी सिरिजपछि एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।
टी-ट्वान्टीमा पछिल्लो नतिजा हेर्दा अष्ट्रेलिया बलियो देखिएको छ ।
पछिल्ला पाँच भेटमा अष्ट्रेलियाले ३ खेल जित्दा इंग्ल्यान्डले २ खेल जितेको छ ।
दुई टिमबीच अन्तिम पटक सन् २०१८ को जनवरीमा खेलेका थिए । उक्त खेलमा भने इंग्ल्यान्डले २८ रनको जित निकालेको थियो ।