एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहिबार) आठौं खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले आठौं खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
ब्रायन लारा स्टेडियममा प्याट्रियट्सविरुद्ध मैदान उत्रदा जमैका चौंथो जितको खोजीमा हुनेछ । प्याट्रियट्स भने दोस्रो जितको खोजीमा रहेको छ ।
यस अघिको भेटमा जमैकाले प्याट्रियट्सलाई ३७ रनले पराजित हराएको थियो । जमैका त्यो जितलाई कायम राख्न चाहन्छ । प्याट्रियट्स भने हारको बदला लिने योजनामा हुनेछ ।
जमैका ७ खेलमा ६ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । प्याट्रियट्स ८ खेलमा १ अंकका साथ तालिकाको पुछारमा छ ।
सन्दीप प्याट्रियट्सविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।
सन्दीपले यस सिजन निकै उत्कृष्ट बलिङ गर्दै आएका छन् । सन्दीप ७ खेलमा १० विकेट लिन सफल भईसकेका छन् ।
सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको पाचौं स्थानमा छन् । यस्तै उनी आफ्नो टिमको सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् ।