काठमाडौं । सेन्चुरी बैंकले पाँचौ अल्टिमेट इन्डोर कर्पोरेट क्रिकेटको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा श्री एअरलायन्सलाई १०९ रनले पराजित गर्दै सेन्चुरीले उपाधि हात पारेको हो । सेन्चुरीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट हलमा टस जितेर ब्याटिङ गरेको श्रीले निर्धारित १८ ओभरमा ८० रन बनाएको थियो। श्रीको लागि सचिन श्रेष्ठले सर्वाधिक १९ रन बनाए । बलिङ्गतर्फ सेन्चुरीका सुरज तिमिल्सिना र रञ्जन खड्गीले समान ३/३ विकेट लिए ।
श्रीले दिएको ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सेन्चुरीले १८९ रन बनाउदै खेल आफ्नो बनायो । सेन्चुरीको लागि राजन खड्गीले सर्वाधिक ४४ रन तथा सुरज तिमल्सिनाले ४० रन बनाए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सेन्चुरीका सुरज तिमल्सिना चुनिए । यस्तै उत्कृष्ट बलर सिटिजन्स बैंकका अमित बस्नेत र उत्कृष्ट ब्याट्सम्यान सेन्चुरीका राजन खड्गी चुनिए ।
बिजेता टोलीलाई राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान बिनोद दासले पुरस्कृत गरेका थिए । प्रतियोगितामा १५ टिमको सहभागीता रहेको थियो ।