काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको तयारीमा रहेको विभागीय टिम नेपाल पुलिस क्लबले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले डर्बी क्लब सशत्र प्रहरीको एपीएफ क्लबलाई २ - ० ले हराएको हो ।
पुलिसलाई जित दिलाउने क्रममा सुमन लामा र ऋषि थापा मगरले समान एक/एक गोल गरे । पहिलो हाफमा सुमनको गोलबाट अग्रता लिएको पुलिसका लागि दोस्रो हाफमा ऋषिले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
सुमन बंगलादेशमा हुने साफ च्याम्पियनसिपको बन्द प्रशिक्षण रहेपनि अन्तिम टोलीमा स्थान बनाउन असफल भएका थिए ।
यस्तै लिगको लागि पुलिसले नेपाली यू-१९ टोलीका गोलकिपर अर्पण कार्कीलाई क्लबमा ल्याएको छ । यसअघि अर्पण त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्थे ।
लामो समयपछि हुन लागेको ए डिभिजन लिग आगामी असोज १३ गतेबाट सुरु हुनेछ ।