काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अर्को लक्ष्य थियो 'एसिया कप' मा छनोट हुने ।
तर, मलेसियामा जारी छनोटमा नेपालको सोचेजस्तो हुन सकेको छैन । नेपालले सुरुवाती दुई खेलमा लगातार पराजय बेहोरेको छ । अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । दुई पराजयले नेपालको एसिया कप एक कदम पछाडी सरेको छ ।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको एक टोलीले एसिया कपको टिकट काट्ने छ । अर्थात्, शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलको विजेताले एसिया कप खेल्नेछ ।
तर, अघिल्ला दुई खेलको लगातार हारले नेपालको शीर्ष दुई सम्भावना कमजोर बनेको छ । अब नेपालले तीन खेल खेल्न बाँकी छ । र, नेपालले आफ्नो लक्ष्य प्राप्तिको सम्भावना कायम राख्न बाँकी तीन खेलमा शतप्रतिशत नतिजा निकाल्नु पर्नेहुन्छ ।
नेपालले (भोलि) शनिबार तेस्रो खेलमा आयोजक मलेसियासंग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल बायुमास ओभलमा नेपालीसमय अनुसार बिहान ७:१५ मा सुरु हुनेछ ।
मेलसियापछि नेपालले सिंगापुरसंग आइतबार र मंगलबार नेपालले हङकङसंग खेल्नेछ । यस्तोमा नेपाललाई शतप्रतिशत जितको लागि पनि कठिन चुनौती देखिएको छ ।
नेपालले खेल्ने तीन टोलीमध्ये हङकङ र मलेसिया निकै बलियो देखिएको छ । मलेसियाले हङकङलाई हराएर बलियो रहेको प्रमाणित गरिसकेको छ । मलेसियासंग पराजित भएपनि हङकङ निकी बलियो टोली हो ।
नेपालले खेल्न बाँकी रहेको ३ खेल मध्ये एक खेल गुमाए नेपालको एसिया कप सपनामै सिमित बन्नेछ । ३ खेलमा शतप्रतिशत जित निकाले नेपालको सम्भावना रहन्छ । तर, अन्य टिमको प्रदर्शनमा नेपाल भर पर्नु पर्ने हुन्छ ।
नेपालले तीन खेलमा जित हात पारे नेपालको अंक ६ हुनेछ । तर, दुई खेलमा जित हात पारे मात्र ४ अंक हुनेछ । नेपालले ४ अंक जोडे स्वत प्रतियोगिताबाट बाहिरिनेछ । किनकी नेपाललाई हराउन सफल युएई र ओमानले तीन खेल बाँकी रहदै ४ अंक जोडिसकेको छ । यस्तै हङकङ र मलेसियाले पनि २/२ अंक जोडेको कारण नेपाललाई थप समस्या हुनेछ ।
यता, नेपालले तीन खेलमा जित हासिल गरेपनि नेपाललाई अन्य खेलको नतिजा अनुकुल बन्नु पर्नेछ । नेपालको शीर्ष दुईको लागि युएई र ओमानको खेल महत्वपूर्ण रहनेछ । शीर्ष दुई स्थानमा रहेका दुवै टोलीले बाँकी तीन खेल गुमाए र नेपालले शतप्रतिशत जित निकाले नेपालको फाइनल यात्रा तय हुनेछ । यदी दुवै टोलीले तीन मध्ये दुई जिते नेपालको सम्भावना सकिनेछ ।
एसिया कप छनोटको विजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।