एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) राति पाँचौं खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले पाँचौ खेलमा बार्बाडोस ट्राइडेन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जमैका र बार्बाडोसबीचको खेल नेपाली समय अनुसार बिहानको राति ३:१५ बजे सुरु हुनेछ ।
क्विन्स पार्क ओभलमा साविक विजेता बार्बाडोसविरुद्ध मैदान उत्रदा जमैका तेस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा जित निकालेको जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो ।
दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेट र तेस्रो खेलमा गुएना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको थियो ।
तर, चौंथो खेलमा वारियर्सलाई ५ विकेटले हराएर जमैका दोस्रो जित निकालेको थियो ।
जमैका ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
बार्बाडोस भने दोस्रो जितको खोजीमा हुनेछ । चार खेलमा २ अंक जोडेको बार्बाडोस तालिकाको पाँचौ स्थानमा रहेको छ ।
सन्दीप बार्बाडोसविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ । किनकि सन्दीपले अघिल्ला चार खेलमा लगातार विकेट हात पार्न सफल भईरहेका छन् ।
सन्दीपले ४ खेलमा ५ विकेट हात पारिसकेका छन् ।
सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेलिरहेका हुन् । यसअघिको दुई संस्करणमा समेत सन्दीपले सीपीएल खेलिसकेका छन् ।
जमैकाबाट भने सन्दीप पहिलोपटक खेलिरहेका हुन् ।