एजेन्सी । क्यरेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तालावाजले दोस्रो जित हात पारेको छ ।
बुधबार बिहान भएको खेलमा गुएना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गर्दै जमैकाले दोस्रो जित निकालेको हो ।
ट्रिनिडाड एन्ड टोबेगोमा भएको खेलमा वारियार्सले दिएको १ सय ९ रनको सामान्य लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
जमैकाको जितमा क्रुमा बोन्नरले सर्वाधिक ३० रन बनाए । यस्तै ग्लेन फ्लिप्सले २६, जर्मेन ब्ल्याक्वुड र आन्द्रे रसेलले समान २३–२३ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङमा आएको गुएनाले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ८ रन मात्र बनायो ।
रोस टेलरले सर्वाधिक २३ रन बनाए । यस्तै नभिन उल हकले २० तथा निकोलस पुरनले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
गुयानालाई सस्तैमा समेट्न मुजिबउर रेहमान र फिडेल इड्वार्ड्सले ३–३ विकेट हात पारे । सन्दीप लामिछाने र आन्द्रे रसेलले समान १–१ विकेट लिए ।
जितसंगै जमैकाले ४ खेलमा २ जित निकाल्दै ४ अंक जोड्ेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै ५ खेलमा २ जित निकालेको गुएना तेस्रो स्थानमा छ ।
प्रतियोगितामा सन्दीपको लगातार उत्कृष्ट प्रदर्शन जारी छ । सन्दीपले ४ खेलमा किफायती बलिङ गर्दै ५ विकेट लिन सफल छन् ।
जमैकाले आफ्नो पाँचौं खेलमा बार्बडोस ट्राइडेण्टेससंग भोलि (बिहिबार) बिहान सवाँ ३ बजे खेल्नेछ ।