काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य प्रकास बुढाथोकी भुटानको शीर्ष डिभिजन क्लब पारो फुटबल क्लबमा अनुबन्धित भएका छन् ।
ललितपुरे क्लब थ्री स्टारका फरवार्ड समेत रहेका प्रकासलाई भुटान राष्ट्रिय लिगको लागि अनुबन्ध गरेको हो । पारोले बिहिबार समाजिक संजाल फेसबुकबाट प्रकासलाई अनुबन्ध गरेको जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका प्रकाससंगको अनुबन्ध रकम भने क्लबले खुलाएको छैन । अनुबन्धसंगै प्रकासले यो सिजनको भुटान नेसनल लिगमा खेल्नेछन् ।
'प्रकास टेक्निकल रुपमा सफल खेलाडी र डेड बल ज्ञाता खेलाडी हुन,' प्रकाससंगको सम्झौतापछि क्लबले लेखेको छ ।
नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्दा प्रकास महत्वपूर्ण खेलाडी रहेका थिए । सागको फाइनलमा भारतविरुद्ध प्रकासले फ्रिकिकबाट उत्कृष्ट गोल गरेका थिए ।
प्रकासले राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप, एसियन गेम्स लगायतमा प्रतिनिधि गरिसकेका छन् । हाल भने प्रकास टोलीमा परेका छैनन् ।
यस्तै क्लब पारोले आइभरी कोष्टका डिफेन्डर कोने फ्लोरेन्टलाई पनि अनुबन्ध गरेको छ ।
पारोसंग सम्झौता गर्न प्रकास र फ्लोरेन्ट संगै भुटान गएका थिए । फ्लोरेन्टले संकटा र मनाङ्ग मर्स्याङ्दी क्लबबाट खेल्ने गर्थे ।