काठमाडौं । प्रदेश नम्बर-२ क्रिकेट संघले आफ्ना खेलाडीको कोरोना बीमा गरेको छ ।
संघले आफ्नो मातहतमा रहेका महिला तथा पुरुष खेलाडीको कोरोना बीमा गरेको हो ।
पुरुषतर्फ १९ र २० महिला खेलाडीको शुक्रबार कोरोना बीमा गरिएको संघले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष तथा प्रदेश -२ का सदस्य रोशन सिंहले शुक्रबार बीमा गरिएको जानकारी गराए ।
'प्रदेश २ क्रिकेट संघले आफ्नो खेलाडी महिला तथा पुरुष दुबैको कोरोना बीमा गरेको छ,' महोत्तरी जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका सिंहले भने, 'प्रदेशले १९ पुरुष खेलाडी र २० महिला खेलाडीको बीमा गरेको हो ।'
यस्तै प्रदेश २ मा रहेको ८ जिल्ला क्रिकेट सघंले समेत चाडै आफ्नो खेलाडीको कोरोना बीमा गर्ने सिंहले बताए । हरेक जिल्ला संघले १४-१४ खेलाडीको बीमा गराउने सिंहले बताए ।
'प्रदेश २ मा रहेको ८ वटै जिल्लाका खेलाडीको बीमा गराउने तयारीमा छौं,' सिंहले थपे, 'हरेक जिल्लाको १४-१४ खेलाडीको समेत बिमा गराउने यसअघि नै निर्णय गरिसकेका छौ ।'
विश्वभर कोरोना महामारी फैलिएको र नेपालमा समेत त्यसको प्रभाव देखिएको कारण खेलाडीको कोरोना बीमा गरिएको हो ।