एजेन्सी । श्रीलंकाका भेट्रान बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुवाती खेलहरु गुमाउने भएका छन् ।
मुम्बई इन्डियन्सका फास्ट बलर मालिंगाले घरायसी कामको कारण आईपीएलका सुरुवाती खेल गुमाउने भएका हुन् ।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
क्रिकइन्फोको अनुसार मालिंगाको बुबा बिरामी रहेको र उनको आगामी साता शल्यक्रिया गर्नु पर्ने भएको कारण उनले सुरुवाती खेल गुमाउने भएका हुन् ।
मुम्बईको टिम शुक्रबार युएई प्रस्थान गरेपनि मालिंगा भने श्रीलंकामै रहेको बताईएको छ । उनले कोलम्बोमै अभ्यास गर्ने पछि टिममा सामेल हुने बताईएको छ ।
मालिंगा आईपीएलकै सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले आईपीएलमा १ सय ७० विकेट लिईसकेका छन् ।
गत वर्ष मुम्बईलाई चौंथो पटक उपाधि दिलाउन उनले उत्कृष्ट खेलेका थिए ।