एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले पहिलो हार व्यहोरेको छ ।
ट्रीनिडाड एन्ड टोबेगोमा शुक्रबार बिहान भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो ।
ब्रायन लारा क्रिकेट स्टेडियममा जमैकाले दिएको १ सय ३६ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
ट्रिनबागोका लागि सुनिल नारानले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा कोलिन मुन्रोले अविजित ४९ रन बनाए ।
यस्तै डरेन ब्राभोले १४ तथा कप्तान केइरन पोलार्डले अविजित ५ रन बनाए ।
जमैकाका सन्दीप लामिछाने, फिडेल एडवार्ड र मुजिब उर रहमानले १/१ विकेट लिए ।
सन्दीपले ४ ओभरमा ३० रन खर्चिएर एक विकेट लिएका हुन् । सन्दीपले आक्रमक ब्याटिङ गरिरहेका नारानलाई कार्लोस ब्रेथवेटको हातबाट क्याच गराएका थिए । पहिलो खेलमा समेत सन्दीपले एक विकेट लिएका थिए ।
यस अघि पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।
जमैकाका ग्लेन फिलिप्सले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आन्द्रे रसेलले २५ आसिफ अलिले २२ रन बनाए ।
ट्रिनबागोका अली खान र जयदेन सिलले २/२ विकेट लिए ।
जमैकालाई हराएसँगै ट्रिनबागो लगातार दुई जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ट्रिनबागोले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ट्रिनबागोले गुएना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो ।
जमैका २ खेलमा २ अंकसहित जमैका चौंथो स्थानमा रहेको छ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो ।