एजेन्सी । पाकिस्तानी क्रिकेटर उमर अकमलले आफुमाथि लागेको प्रतिबन्धविरुद्ध कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गरेका छन् ।
अकमलले १८ महिने प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कासमा अपिल गरेका हुन् ।
२९ वर्षीय अकमलले बिहीबार अपिल दर्ता गराएका छन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले गत बैशाखमा अकमललाई क्रिकेटमा तीन वर्षको प्रतिबन्ध लगाएको थियो ।
तर, पाकिस्तानको सर्वोच्च अदालतले अकमलको प्रतिबन्धलाई घटाएको थियो । त्यसपछि उनको प्रतिबन्ध १८ महिनामा झरेको थियो ।
पीसीबीले ब्याट्सम्यान अकमललाई म्याच फिक्सिङको आरोपमा प्रतिबन्ध गरेको थियो । फिक्सिङको लागि आएको प्रस्तावको रिपोर्ट नगरेको भन्दै बोर्डले उनलाई प्रतिबन्ध गरेको हो ।
यस अघि पीसीबीले उनलाई गत फेब्रुवरीमा निलम्बन गरेको थियो ।
अकमलले पाकिस्तानका लागि १६ टेष्ट, १ सय २१ एकदिवसीय र ८४ टी-ट्वान्टी खेलेका छन् ।