काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण तीव्र गतिमा वृद्धि हुन थालेपछि क्यानले राष्ट्रिय टिममा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने भएको हो ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले तत्काल राष्ट्रिय टिमको लागि बन्द प्रशिक्षणमा बोलाईने पुरुष खेलाडीको कोरोना बीमा गरिने बताएका छन् ।
'सबैतिर कोरोना संक्रमण बढिरहेको र चाडै खेलाडी अभ्यासमा आउनु पर्ने हुन सक्छ । त्यसैले अहिले सिनियर पुरुष टिमका खेलाडीको कोरोना बीमा गर्ने तयारीमा लागेका छौँ,' सचिव प्याकुरेलले खेलपाटीसँग भने ।
सचिव प्याकुरेलले खेलाडीसँगै फ्रन्ट लाइनमा कार्यरत आफ्ना कर्मचारीको समेत कोरोना बीमा गरिने बताए । तर, उपत्यकामा लागेको निषेधाज्ञाले बीमाको काममा ढिलाई हुने उनले बताए ।
'हामीले २०-२२ खेलाडीसँगै, १२-१४ जना मैदानका कर्मचारी, ५-७ जना अफिसका कर्मचारी, टिम फिजियो लगायतको बीमा गर्ने प्रक्रिया अघि बढाएका छौं,' प्याकुरेलले थपे, 'आवश्यक कागजात जुटाउँदै थियौं, हिजोबाट बन्द सुरु भयो । अब घरबाटै गरेर १-२ दिनमा काम सकाउने प्रयास गर्छौं ।'
कोरोनाको कारण लामो समयबाट खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । क्यानले भदौ १ गतेबाट गर्ने भनिएको राष्ट्रिय टिमको प्रशिक्षण समेत स्थगित गरेको छ ।
टिमको क्याम्प नहुँदा अधिकांस खेलाडी राजधानी बाहिर रहेका छन् । कतिपय खेलाडी कोरोना जोखिम मानिएको क्षेत्रमा रहेका छन् ।
कोरोनाको संक्रमण बढेपछि राष्ट्रिय खेलकुद परिसद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।
नेपालमा हालसम्म २९ हजारबढी कोरोना संक्रमित भेटिएका छन् । जसमा १ सय २० जनाको मृत्यु भईसकेको छ ।