काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटको छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहिबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स युएईसंग ७८ रनले पराजित भएको हो ।
किनरारा ओभलमा युएईले दिएको २५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४८ ओभर ५ बलमा अलआउट हुँदै १७६ रनमा समेटियो ।
नेपालका लागि सुवास खकुरेलले अर्धशतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । सुवासले ९७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भए । यस्तै नेपालका दिपेन्द्र सिंह ऐरीले ४० रन जोड्दा सोमपाल कामीले अविजित २७ रन जोडे । कप्तान पारस खड्का १६ र बसन्त रेग्मीले १२ रन बनाए ।
नेपाललाई सस्तैमा समेट्न युएईका अहमद राजाले ४ विकेट लिए । यस्तै मोहमद नाभिदले ३ र अमीर हायतले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
युएईका अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।
तल्लो क्रमका ब्याट्सम्यान अदनानले ४६ बलमा ५७ रन बनाएर युएईलाई बलियो स्थितीमा पुर्राए ।
यसअघि युएईको इनिङ्स समाल्ने क्रममा ओपनर चिरागले ६५ रनको योगदान गरे । उनले पहिलो विकेटका लागि ओपनर मोहमद अहमदसंग ७० रनको साझेदारी गरेका थिए ।
त्यस्तै, रामेज साहजादले ३५ रनको योगदान गरेका थिए ।
नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट लिए ।
यो हारसंगै एसिया कपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको थियो । अंक बिहिन नेपाल पाँचौ स्थानमा छ । छनोटको शीर्ष दुईमा रहेर फाइनल पुग्ने टोलीमध्ये विजेता टोलीले एसिया कपमा स्थान बनाउने छन् ।
युएईको यो लगातार दोस्रो जित हो । युएईले सिंगापुरलाई २१५ रनले हराएको थियो । ४ अंक जोडेको युएई छनोटको शीर्ष स्थानमा छ । लगातार दुई जितसहित ४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ ।
अब नेपालले आयोजक मलेसियासंग शनिबार खेल्नेछ । त्यसपछि नेपालले सिंगापुरसंग आइतबार र अर्को मंगलबार नेपालले हङकङसंग खेल्नेछ ।
छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।