काठमाडौं । एसिया कप छनोटको दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
किनरारा ओभलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको छ । युएईले अहिले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।
युएईविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा ओमानसंग ७ विकेटले पराजित भएको थियो । नेपाललाई एसिया कपमा छनोट हुने सम्भावना जीवित राख्न युएईविरुद्ध जित अत्यावश्यक जस्तै छ ।
६ राष्ट्र सम्मलित छनोटको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेताले एसिया कपमा स्थान पक्का गर्नेछ ।
तर, युएईविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । पहिलो खेलमा सिंगापुरलाई २१५ रनले हराएको युएई उच्च मनोबलका साथ मैदान उत्रनेछ । यस्तै युएईका खेलाडीको उच्च लय नेपालको लागि घातक बन्न सक्छ ।
पछिल्लो खेलको नतिजा हेर्दा युएईविरुद्ध नेपाललाई कठिन हुने देखिन्छ । युएईसंगको पछिल्ला १४ भेटमा नेपाल निकै कमजोर देखिएको छ । नेपालले मात्र ३ खेल जितेको छ । तर, नेपाल आज युएईविरुद्धको हारको यात्रा टुंग्याउन चाहन्छ ।
नेपालले युएईविरुद्ध पछिल्लो पटक विश्व क्रिकेट लिग डिभिजन – २ मा दुई खेल खेलेको थियो । जसमा नेपालले एक जित र एक हार बेहोरेको थियो । डिभिजन -२ को समूह चरणमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो । तर, फाइनलमा नेपाल ७ रनले पराजित भएको थियो ।
यस्तै नेपाल र युएईबीचको खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासहित हुनेछ । नेपाल र युएईले आईसिसीको एकदिवसीय राष्ट्रको मान्यता पाएको कारण दुई टोलीबीचको खेल एकदिवसीय मान्यता प्राप्त हुनेछ ।
नेपाल भर्सेस युएई (हेड टु हेड)
सन् १९९८ (एसीसी ट्रफी) : युएई ९४ रनले विजयी
सन् २००० (एसीसी ट्रफी) : युएई १ विकेटले विजयी
सन् २००२ (एसीसी ट्रफी) : युएई ६ विकेटले विजयी (समूह चरण)
सन् २००२ (एसीसी ट्रफी) : युएई ६ विकेटले विजयी (फाइनल)
सन् २००६ (एसीसी ट्रफी) : युएई ९ विकेटले विजयी
सन् २००८ (एसीसी एलिट ट्रफी) : युएई ६ विकेटले विजयी
सन् २०१२ (एसीसी एलिट ट्रफी) : नेपाल ४ विकेटले विजयी (समूह चरण)
सन् २०१२ (एसीसी एलिट ट्रफी) : फाइनल खेल बराबर (संयुक्त उपाधि)
सन् २०१४ विश्वकप छनोट : युएई १०२ रनले विजयी
सन् २०१४ एसीसी प्रिमियर लिग : नेपाल ४ विकेटले विजयी
सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएई ७ विकेटले विजयी
सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएई ६३ रनले विजयी
सन् २०१८ विश्व क्रिकेट लिग डिभिजन-२ : नेपाल ४ विकेटले विजयी (समूह चरण)
सन् २०१८ विश्व क्रिकेट लिग डिभिजन-२ : युएई ७ रनले विजयी (फाइनल)