एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी प्रशिक्षणमा फर्किएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को मिति तय भएपछि धोनीले प्रशिक्षण थालेका हुन् ।
३८ वर्षीय धोनीले राँचीस्थित झारखण्ड स्टेट क्रिकेट एसोसियसनको मैदानमा प्रशिक्षण सुरु गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
'धोनीले गत साता एसोसियसनको मैदान भ्रमण गरेका थिए । उनले इन्डोर सुविधासहित अभ्यास गरिरहेका छन् । बलिङ मेसिनको सहायताबाट उनले ब्याटिङ अभ्यास गरिरहेका छन्,' एसोसियसनका एक पदाधिकारीले भने ।
चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।
तर, आईपीएलबाट उनी राष्ट्रिय टिममा फर्कने तयारीमा छन् ।
कोरोनाको महामारीको कारण यस वर्षको आईपीएल युएईमा आयोजना हुनेछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
धोनीले आईपीएलमा चेन्नईका लागि १ सय ९० खेलमा ४ हजार ४३२ रन बनाएका छन् । धोनीले चेन्नईलाई तीन पटक आईपीएलको उपाधि दिलाएका छन् ।
धोनीले सबै फर्म्याटमा भारतका लागि ३ सय ३२ खेल खेलिसकेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् । धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन् ।
धोनीले कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए ।