काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटका लागि ट्रिनिडाड एन्ड टोबेगो पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
गत आइतबार ट्रिनिडाड एन्ड टोबेगो पुगेर १४ दिनको क्वारेन्टिनमा रहेका सन्दीपको रिपोर्ट नेगेटिभ आएको हो ।
सीपीएलले शुक्रबार प्रतियोगिताका लागि आएका खेलाडी, अफिसियल र टिम पदाधिकारीको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
प्रतियोगिताका लागि ट्रिनिडाड एन्ड टोबेगो आएका १ सय ६२ जना सबैको रिपोर्ट नेगेटिभ देखिएको सीपीएलले जनाएको छ ।
यस्तै सीपीएलले १४ दिनको अवधिमा उनीहरुको कोरोना परिक्षणलाई कायम राखिने समेत जनाएको छ ।
यस वर्षको सीपीएल अगस्ट १८ बाट सुरु भएर सेप्टेम्बर १० मा सकिनेछ ।
प्रतियोगिताको लागि नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप गत साता चार्टर्ड फ्लाइटमार्फत त्यसतर्फ गएका थिए ।
यस वर्ष सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।
ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । सीपीएलमा यो सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।
सन्दीप आबद्द जमैकाको पहिलो खेल अगस्ट १९ मा रहेको छ ।