एजेन्सी । भारतका भेट्रान स्पिनर अमित मिश्राले आफुलाई अझै राष्ट्रिय टिममा पुनरागमन गर्ने आशा रहेको बताएका छन् ।
३७ वर्षीय स्पिनर मिश्राले क्रिकेट डटकमसँग कुरा गर्दै अझै आफु भारतीय टिममा पर्नेमा आशावादी रहेको बताएका हुन् ।
मिश्राले सन् २०१७ मा भारतका लागि अन्तिम पटक टी-ट्वान्टी खेलेका थिए । उनी लामो फर्म्याटको टिमबाट भने २०१६ बाटै बाहिर रहदै आएका छन् ।
'अवश्य पनि, म गर्छु । म अझै खेल्दै छु । केवल म आईपीएलको लागि खेलिरहेको छैन । मेरो लडाई मसँग छ । भारतीय टिमको लागि बोलाउदा म सँधै तयार हुनु पर्दछ,' मिश्राले भने, 'म टिममा फर्कनेमा आशावादी छु ।'
मिश्राले यस वर्षको आईपीएल दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । १३ औं संस्करणको आईपीएल युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।
यस्तै मिश्राले भारतीय टिममा फर्कन उमेरले नछेक्ने बताए । उनले महत्वपूर्ण कुरा प्रदर्शन र फिटनेस भएको समेत बताए ।
'उमेर प्रदर्शनको मापदण्ड हुनु हुँदैछ । जहिले पनि एक खेलाडी फिट छ कि छैन हेर्नुपर्छ,' उनले थपे ।
मिश्राले भारतको लागि ३६ एकदिवसीय अन्तर्राष्ट्रियमा ६४ विकेट लिएका थिए । यस्तै टेस्टमा २२ र टी-ट्वान्टीमा ८ विकेट लिएका छन् ।