एजेन्सी । यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजकमा चिनियाँ मोबाइल कम्पनी भिभो नरहने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बिहीबार भिभोसँगको प्रायोजन सम्झौता रद्द गरिएको जनाएको छ ।
'बीसीसीआई र भिभो मोबाइल इन्डियाले २०२० को आईपीएलको लागि साझेदारी स्थगित गर्ने निर्णय गरेको छ', बीसीसीआईको विज्ञप्तिमा भनिएको छ ।
भारत र चीनबीच पछिल्लो समय चुलिएको सिमा विवादका कारण भिभो यस वर्ष आईपीएलको मुख्य प्रायोजक नरहने भएको हो ।
बीसीसीआईले भिभोसँग २०२२ सम्मको लागि सम्झौता गरेको थियो । आईपीएलको मुख्य प्रायोजकको रुपमा भिभोले वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको छ ।
यस वर्षको आईपीएल युएईमा आयोजना हुनेछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।