काठमाडौं । एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमानसंग पराजित भएको छ । मलेसियामा बुधबार भएको पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको हो ।
क्वालालम्पुरस्थित बायुमास ओभरमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । ओमानको जितमा खावर अलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । नेपाली बलरसामु टिकेर खेलेका अलीले अविजित ८४ रन जोड्दै ओमानलाई जित दिलाए ।
६९ बलको सामना गरेका अलीले ६ चौका र ४ छक्का प्रहार गरे । अलीले चौथो विकेटको जिसन मक्सुदसंग मिलेर ७७ रनको साझेदारी गरे । मक्सुदले अविजित ४५ रन बनाए ।
यस्तै वैभव श्रीधरले ४१ रन जोड्दा जतिन्दर सिंहले ३० रन बनाए । नेपालका कप्तान पारस खड्काले १ विकेट लिए । ओमानका थप दुई खेलाडी रन आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । नेपालको लागि सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिए । यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सागरले पहिलो खेलमै अर्धशतकीय इनिङस खेल्न सफल भए । ८४ बलको सामना गरेका सागरले ६ चौका र २ छक्का प्रहार गरे ।
यस्तै नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ४५ रन बनाउदा आरिफ शेखले ३६ रन बनाए । करण केसी २६ रनमा अविजित रहे । त्यसबाहेक नेपालका दिपेन्द्र सिंह ऐरीले ९ , कप्तान पारस खड्काले ८, सोमपाल कामीले ५ तथा सुवास खकुरेलले ४ रन जोडे ।
बसन्त रेग्मी र रोहित कुमार पौडेल सुन्य रनमा पेभेलियन फर्किए । ओमानका बिलाल खान, मोहमद नादीम र अजय लालचेताले समान २/२ विकेट लिए ।
ओमानसंगको हारसंगै नेपालले एसिया कप छनोटको सुरुवात गरेको छ । छनोटमा मलेसिया र युएईले पनि विजयी सुरुवात गरेका छन् ।
एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले बिहिबार युएईसंग खेल्नेछ । त्यसपछि नेपालले आयोजक मलेसियासंग शनिबार, सिंगापुरसंग आइतबार र अर्को मंगलबार नेपालले हङकङसंग खेल्ने छ ।
छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।