एजेन्सी । विश्वका क्रिकेट खेलाडीहरूको संस्था फेडेरेसन अफ इन्टरनेसनल क्रिकेटर्स एसोसिएसन (एफआईसीए) ले विश्वका ६ फ्रेन्चाइज क्रिकेट लिगमा खेलाडीले पाउने पारिश्रमिकमा समस्या देखिएको जनाएको छ ।
एफआईसीएले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने फ्रेन्चाइज लिगसहित ६ लिगमा पारिश्रमिक समस्या देखिएको जनाएको छ ।
एफआईसीएको रिपोर्ट अनुसार टेस्ट राष्ट्र बंगलादेश प्रिमियर लिग, क्यानडाको ग्लोबल टी-२०, युएईको टी-१० लिग, कतार टी-१०, युरो टी-२० स्ल्याम र युएईको मास्टर्स च्याम्पियन्स लिगमा खेलाडीले पाउने पारिश्रमिकमा समस्या रहेको जनाएको छ ।
एफआईसीएले ती लिगमा ३४ प्रतिशत खेलाडीले पारिश्रमिक पाउनका लागि समस्या भोगेको जनाएको छ ।
एफआईसीएले खेलाडीको यस खाले समस्यामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले चासो नदिएको समेत जनाएको छ ।
पारिश्रमिकमा समस्या देखिने ६ लिगमध्ये सन्दीपले ३ लिग खेलेका छन् ।
सन्दीपले बंगलादेश प्रिमियर लिग, ग्लोबल टी-२० क्यानडा र युएईको टी-१० लिग खेलिसकेका छन् ।