काठमाडौं । एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बायुमास ओभरमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनाउन सक्यो ।
नेपालको उच्च स्कोरमा सागर पुनले ८३ रन जोडे । यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सागरले पहिलो खेलमा शानदार ब्याटिङ्ग प्रदर्शन गरेका हुन् ।
ओपनर ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएको खेलमा सुबास खकुरेल ४ रनमा पवेलियन फर्किएका थिए । पारस खड्का ८ रनमा आउट हुदाँ दिपेन्द्र सिंह ऐरीले मात्र ९ रन जोड्न सके । आरिफ शेख ३६, रोहितकुमार पौडेल शुन्य, सोमपाल कामी ५ रनमा आउट भए ।
प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै दुवै टोली उपाधि यात्रालाई सहज बनाउन चाहन्छन् । प्रतियोगिताको विजेता एसिया कपकालागि छनोट हुनेछ ।
एकदिवसीय क्रिकेटमा ६ पटक ओमानविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले पाँच बर्षयता उसलाई हराउन सकेको छैन । पछिल्ला ६ भेटमा नेपाल र ओमानले समान ३\३ पटक जित निकालेका छन् । नेपालले पछिल्लो समय सन् २०१३ मा ओमानलाई हराएको थियो ।