काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका कर्मचारीहरुलाई एक लाख आर्थिक सहयोग गर्ने बताएका छन् ।
कोरोना भाईरसले प्रभावित गरेको भन्दै सन्दीपले त्रिवि मैदानका कर्मचारीलाई एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि वेष्ट इन्डिज प्रस्थान गर्नु अघि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सन्दीपले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
'सायद ढिलो पनि भयो कि, मैदानमा काम गर्नु भएको कर्मचारी पीडामा गुज्रिनु भएको थियो कि । नजिकबाट नियाल्न त सकिन तर पछि बुझ्दै गर्दा सबै जनाले समयमा तलब पाउनु भएको रहेनछ,' पत्रकार सम्मेलनमा सन्दीपले भने, 'धेरै त हैन, मेरो सानो सहयोग उहाँहरुको लागि एक मुष्ट एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छु ।'
हाल त्रिवि मैदानमा १५ कर्मचारीले काम गर्दै आएका छन् ।
'हामी जहिले आउँदा समेत इन्डोर, मैदान, पिच सबै तयार बनाई राख्नु भएको हुन्छ । धेरै ठुलो रकम त हैन, मैले सक्ने गरेको छु,' उनले थपे ।
सीपीएलका लागि सन्दीप बिहीबार चार्टर्ड फ्लाइटमार्फत त्यसतर्फ जाने छन् ।
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।
यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।