काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने बिहीबार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न सन्दीप भाेलि वेष्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् ।
कोरोना भाइरसको माहामारीको कारण ठप्प बनेको हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने प्रबल सम्भावना रहेको थियो । तर अन्तिम समयमा चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन् ।
प्रतियोगितामा सहभागिता जनाउन सन्दीप बिहीबार ट्रिनिडाड एन्ड टोबेगो प्रस्थान गर्न लागेको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले जानकारी गराए । सन्दीप अमेरिका हुँदै खेल स्थान जाने छन् ।
सन्दीप आईतबार मात्र वेष्ट इन्डिज पुग्ने छन् ।
यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।
क्यारिबयन सरकार तथा आयोजकका अनुसार प्रतियोगिता खेन आउने हरेक खेलाडी १४ दिनको क्वारेन्टिन बस्नु पर्ने छ । हरेक खेलाडी अगष्ट १ भित्र प्रतियोगिता स्थल पुग्नु पर्ने बताइएकाे छ ।
अगष्ट १ भन्दा ढिलो आउने खेलाडीलाई टिमले क्याम्पमा सहभागी गराउने छैन । यस्तै, उनीहरुले खेलाडीसंग सम्झौता रद्द समेत गर्ने छन् ।
हवाई उडानका कारण प्रतियोगिता खेल्न आउन नसक्ने खेलाडीसंग कतिपय टिमले सम्झौता खारेज समेत गरिसकेका छन् ।
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।
ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । सीपीएलमा यो सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।
सन्दीप आबद्द जमैकाको पहिलो खेल अगष्ट १९ मा रहेको छ ।