एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले यसै वर्षको अगष्टदेखि लंकन प्रिमियर लिगलाई पुन सुरु गर्ने भएको छ ।
बोर्डले एक विज्ञप्ती जारी गर्दै अगष्ट २८ देखि सेप्टेम्बर २० सम्म प्रतियोगिता आयोजना गर्ने बताएको हो ।
सन् २०१२ मा पहिलो संस्करण आयोजना भएपनि फ्रेन्चाईज क्रिकेट नियमित रुपमा सञ्चालन हुन सकेको छैन। सन् २०१३ र १४ मा प्रायोजक र व्यवस्थापकीय कमजोरीका कारण प्रतियोगिता रद्ध भएको थियो ।
प्रतियोगितामा ५ शहरका टिम रहने छन् । जसमा कोलोम्बो, क्यान्डी, गल्ली दाम्बुला र जाफ्ना रहेका छन् ।
चार फरक अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा २३ खेल हुनेछन् ।
७० भन्दा बढी अन्तराष्ट्रिय खेलाडी तथा विश्वका १० उत्कृष्ट प्रशिक्षकले घरेलु खेलाडीसंग प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको श्रीलंका क्रिकेट बोर्डले बताएको छ ।
यद्धपी कोरोना माहामारीको कारण केही प्रश्न अनुत्तरित छ । सरकारले विदेशी खेलाडी र प्रतियोगितामा सहभागी हुने अफिसियललाई क्वारेन्टिनमा राख्ने बिषय प्रष्ट भईसकेको छैन ।
अहिले श्रीलंका प्रवेश गरेका पर्यटक २ हप्ताको क्वारेन्टिनमा बस्दै थप १४ दिन एकान्तवासमा रहनुपर्ने नियम रहेको छ । श्रीलंका सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय हवाई उडान समेत खुला गर्दैछ ।
श्रीलंकामा हाल सम्म २ हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको छ ।