काठमाडौं । मलेसियामा सुरु हुने एसिया कप छनोटको पहिलो खेलमा नेपालले आज (बुधबार) ओमानसंग प्रतिस्पर्धा गर्दै छ । नेपाल र ओमानबीचको खेल बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ७:१५ मा सुरु हुनेछ ।
पहिलो खेलमा ओमानविरुद्ध मैदान उत्रदा नेपाल शानदार सुरुवातको खोजीमा रहनेछ । तर, नेपाललाई सोचे जस्तो सहज भने छैन । ओमान पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।
पहिलो जित दुवै टोलीको लागि उत्तिकै महत्वपूर्ण रहेको छ । यस्तोमा दुवै टोली जितका लागि सबै हतियार प्रयोग गर्न चाहन्छ ।
पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन । एकदिवसीय क्रिकेटमा ६ पटक भिडेपनि नेपालले पछिल्लो पाँच बर्षयता ओमानलाई हराउन सकेको छैन । तर, ६ भेटमा नेपाल र ओमानले समान ३/३ पटक जित निकालेका छन् ।
नेपालले पछिल्लो समय सन् २०१३ मा ओमानलाई हराएको थियो । आईसिसी विश्व क्रिकेट लिग डिभिजन -३ मा नेपालले ओमानलाई २८ रनले हराएको थियो । त्यसयता ओमानले नेपाललाई लगातार तीन भेटमा हराएको छ । नेपाल अन्तिम पटक विश्व क्रिकेट लिग डिभिजन-२ मा ओमानसंग ६ विकेटले पराजित भएको थियो । एसिया कप छनोटमा भने नेपाल ओमानसंगको हारलाई पूर्णविराम लगाउन चाहन्छ ।
यस्तै नेपालले दोस्रो खेलमा युएईसंग बिहिबार किनरारा ओभलमा खेल्नेछ । त्यसपछि नेपालले आयोजक मलेसियासंग शनिबार, सिंगापुरसंग आइतबार र अर्को मंगलबार नेपालले हङकङसंग खेल्ने छ ।
एसिया कपमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् ।
छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।
नेपाल भर्सेस ओमान (हेड टु हेड)
सन् २०१८ (विश्व क्रिकेट लिग डिभिजन-२) : ओमान ६ विकेटले विजयी
सन् २०१५ (मैत्रीपूर्ण खेल) : ओमान ३ विकेटले विजयी
सन् २०१४ (एसीसी प्रिमियर लिग) : ओमान २ विकेटले विजयी
सन् २०१३ (विश्व क्रिकेट लिग डिभिजन-३) : नेपाल २८ रनले विजयी
सन् २०१० (एसीसी एलिट कप ट्रफी ) : नेपाल ६ विकेटले विजयी
सन् २००२ (एसीसी ट्रफी) : नेपाल १०५ रनले विजयी