एजेन्सी । घरेलु टोलि इंग्ल्यान्डले तेस्रो तथा अन्तिम टेष्टमा वेष्ट इन्डिजलाई जितका लागि ३ सय ९९ रनको लक्ष्य दिएको छ ।
म्यानचेस्टरमा आइतबार आफ्नो दोस्रो इनिङ्समा २ विकेटको क्षतीमा २ सय २६ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डले पाहुना टोलीलाई चुनौतिपूर्ण लक्ष्य दिएको हो ।
दोस्रो इनिङ्समा इंग्ल्यान्डका रोरी ब्रुन्सले ९९ रन जोड्दा कप्तान जोय रुटले अविजित ६८ रन बनाए । डम सिब्ली ५६ रनमा आउट भए । वेष्ट इन्डिजका कप्तान जासन होल्डर र रोस्टन चेसले १/१ विकेट लिए ।
यस अघि ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो ।
इंग्ल्यान्डले इनिङ्स समाप्तिको घोषणा गरेपछि दोस्रो इनिङ्स थालेको वेष्ट इन्डिजले खराब सुरुवात गरेको छ ।
तेस्रो दिनको खेल सकिदा वेष्ट इन्डिजले दोस्रो इनिङ्समा २ विकेट गुमाएर १० रन बनाएको छ । वेष्ट इन्डिज ३ सय ८९ रनले पछि रहेको छ ।
यस अघि पहिलो इनिङ्समा वेष्ट इन्डिज १ सय ९७ रनमा अलआउट भएको थियो ।
घरेलु टोलीका बलर चम्किएपछि वेष्ट इन्डिजको ब्याटिङ धरासायी बनेको हो ।
वेष्ट इन्डिजका लागि कप्तान जासन होल्डरले सर्वाधिक ४६ रन बनाए । यस्तै शेन डरिचले ३७ रन जोड्दा जोन क्याम्पबेलले ३२ रन बनाए ।
जेर्मिने ब्लाकवुड २६ रनमा आउट भए ।
वेष्ट इन्डिजको इनिङ्स ध्वस्त बनाउन इंग्ल्यान्डका स्टुवार्ट ब्रोड एक्लैले ३१ रन खर्चिएर ६ विकेट लिए । जेम्स एण्डरसनले २ तथा जोफ्रा आर्चर र क्रिस वोक्सले १/१ विकेट लिए ।
दुवै टिम अन्तिम टेष्टमा जित निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यमा रहेका छन् ।
दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो ।
तर, दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।