एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर युवराज सिंहले आफु भारतीय क्रिकेटमा लेजेण्ड खेलाडी नभएको बताएका छन् ।
स्पोर्ट्सकिडासँगको एक अन्तर्वार्तामा सिंहले आफुले खेल जीवनमा इमान्दार भएको खेलेको तर आफु लेजेण्ड खेलाडीको रुपमा नपुगेको बताएका हुन् ।
'पहिलो कुरा मलाई लाग्दैन कि म लेजेण्ड खेलाडी हुँ । मैले इमान्दार भएको खेलेको छु तर धेरै टेष्ट खेलेको छैन,' सिंहले भने, 'लेजेण्ड खेलाडी तिनीहरु हो जसले टेष्टमा रेकर्डहरु बनाएका हुन्छन् ।'
सिंहले भारतका लागि ४० टेष्ट र ३०४ एकदिवसीय खेलेका छन् । दुई फर्म्याटमा उनले १० हजार बढी रन बनाएका छन् ।
टी-ट्वान्टीमा ५८ खेल खेलेका सिंह भारतको विश्वकप विजेता खेलाडी हुन् । सन् २००७ को टी-ट्वान्टी विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा उनी टिममा महत्वपूर्ण सदस्य थिए ।
सिंह सिमित ओभरको क्रिकेटमा महान खेलाडी मानिन्छन् । उनले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
यस्तै सिंहले आफ्नो खेल जीवनको अन्त्यतिर भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आफुलाई अव्यवसायिक व्यवहार गरेको समेत बताए ।
सिंहले खेल जीवनको अन्त्यमा बोर्डबाट आफुले सम्मान व्यवहार नपाएको बताएका हुन् ।
'कसैलाई विदाई गर्ने निर्णय मेरो हैन । बीसीसीआईको हो,' सिंहले भने, 'मेरो खेल जीवनको अन्त्यतिर उनीहरुले मलाई गरेको व्यवस्था अव्यवसायिक थियो ।'