काठमाडौं । डिभिजन टु मा उपविजेता, विश्वकप छनोट पुग्न सफल, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु । नेपाली क्रिकेटले पछिल्लो दुई बर्षमा खेलको प्रतियोगिता र सफलता यिनै हुन् ।
यी मध्ये एकदिवसीय मान्यता पाउनु र एकदिवसीय क्रिकेटमा डेब्यु गर्नु नेपाली क्रिकेटको लागि सबैभन्दा ठुलो सफलता थियो । नेपाललाई यो उपलब्धि पुरा गर्न २२ वर्ष लाग्यो ।
सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा पहिलोपटक एसोसियट राष्ट्रको मान्यता पाएको थियो । र, नेपालले त्यसको ठिक २२ वर्षपछि ऐतिहासिक उपलब्धि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भयो ।
यो सफलताबाट हौसिएको नेपालले बुधबारबाट अर्को सफलताको लागि पाइला चाल्दै छ । नेपालले मलेसियामा हुने एसिया कप क्रिकेटको छनोटमा सहभागिता जनाउदै छ ।
उक्त छनोटको उपाधि जिते नेपालले अर्को उपलब्धि हासिल गर्नेछ । नेपालले क्रिकेटको पावर हाउस भारत, श्रीलंका, बंगलादेश जस्ता राष्ट्रसंग प्रतिस्पर्धा गर्ने मौका पाउने छ । तर, नेपाललाई यो स्थानसम्म पुग्न निकै कठिन छ । किनकि नेपालले अब्बल टोलीहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
एसिया कपमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् ।
छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।
छनोटको पहिलो खेलमा नेपालले बुधबार ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ७:१५ मा सुरु हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा युएईसंग बिहिबार किनरारा ओभलमा खेल्नेछ । त्यसपछि नेपालले आयोजक मलेसियासंग शनिबार, सिंगापुरसंग आइतबार र अर्को मंगलबार नेपालले हङकङसंग खेल्ने छ ।
नेपाल भर्सेस ओमान
पहिलो खेलमा ओमानविरुद्ध मैदान उत्रदा नेपाल शानदार सुरुवातको खोजीमा रहनेछ । तर, नेपाललाई सोचे जस्तो सहज भने छैन । किनकी ओमान पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।
पहिलो जित दुवै टोलीको लागि उत्तिकै महत्वपूर्ण रहेको छ । यस्तोमा दुवै टोली जितका लागि सबै हतियार प्रयोग गर्न चाहन्छ ।
पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन । एकदिवसीय क्रिकेटमा ६ पटक भिडेपनि नेपालले पछिल्लो पाँच बर्षयता ओमानलाई हराउन सकेको छैन । तर, ६ भेटमा नेपाल र ओमानले समान ३/३ पटक जित निकालेका छन् ।
नेपालले पछिल्लो समय सन् २०१३ मा ओमानलाई हराएको थियो । आईसिसी विश्व क्रिकेट लिग डिभिजन -३ मा नेपालले ओमानलाई २८ रनले हराएको थियो । त्यसयता ओमानले नेपाललाई लगातार तीन भेटमा हराएको छ । नेपाल अन्तिम पटक विश्व क्रिकेट लिग डिभिजन-२ मा ओमानसंग ६ विकेटले पराजित भएको थियो । एसिया कप छनोटमा भने नेपाल ओमानसंगको हारलाई पूर्णविराम लगाउन चाहन्छ ।
(हेड टु हेड)
सन् २०१८ (विश्व क्रिकेट लिग डिभिजन-२) : ओमान ६ विकेटले विजयी
सन् २०१५ (मैत्रीपूर्ण खेल) : ओमान ३ विकेटले विजयी
सन् २०१४ (एसीसी प्रिमियर लिग) : ओमान २ विकेटले विजयी
सन् २०१३ (विश्व क्रिकेट लिग डिभिजन-३) : नेपाल २८ रनले विजयी
सन् २०१० (एसीसी एलिट कप ट्रफी ) : नेपाल ६ विकेटले विजयी
सन् २००२ (एसीसी ट्रफी) : नेपाल १०५ रनले विजयी