पोखरा । कास्की जिल्ला क्रिकेट संघले आफ्ना क्लबहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।
संघले जिल्लामा दर्ता गरिएका क्लबहरुलाई प्रशिक्षण सुरु गर्न र स्वास्थ्य सुरक्षा अपनाउन आर्थिक सहयोग गर्ने भएको हो ।
संघले शनिबार एक विज्ञप्ति निकाल्दै क्लबलाई सहयोग गर्ने निर्णय बोर्ड बैठकले गरेको जनाएको छ ।
संघले हरेक क्लबलाई नगद १० हजार रुपैयाँको दरले सहयोग गर्ने जनाएको छ ।
संघको बोर्ड बैठकले भदौं १० गतेसम्म क्लबहरुलाई खेलाडीहरुको अभिलेख संकलन गरि खेलाडी दर्ता गर्न समेत निर्देशन दिएको छ । यस्तै भदौं ५ गतेसम्म नयाँ क्लबहरुको दर्ता खुल्ला गर्ने र दर्ता प्रक्रिया पुरा गरिने जनाएको छ ।
संघले भदौं १ गतेदेखि आफ्नो नियमित प्रशिक्षण सुचारु गर्ने समेत जनाएको छ ।
कोरोना भाईरसको महामारीको कारण गत चैत ११ गतेबाट सरकारले लकडाउन गरेपछि प्रशिक्षण स्थगित गरिएको थियो ।
तर, सरकारले भदौं १ बाट प्रशिक्षणको लागि अनुमति दिने निर्णय गरेपछि कास्कीले प्रशिक्षण सुचारु गर्ने भएको हो ।
सरकारको स्वास्थ्य सम्बन्धि बनाएको विभिन्न नियम पालना गर्दै प्रशिक्षण गरिने संघका सचिव दिपेन्द्र प्रताप चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले भदौं तेस्रो हप्ताबाट क्लब स्तरीय प्रतियोगिता सुरु गर्ने योजनासहित प्रतियोगिता संचालनका लागि `टुर्नामेन्ट डाइरेक्टर´ नियुक्ति गर्ने निर्णय समेत गरिएको जनाएको छ ।
त्यस्तै पोखरा रंगशालाको स्तरोन्नति गर्न मुल्यांकन प्रक्रियामा रहेको र टेण्डरको काम सक्दै शिघ्र निर्माण प्रक्रिया सुरु गर्ने समेत संघले जनाएको छ ।
पोखरा रंगशालामा थप पिच निर्माण गर्ने, फेन्सिङ गर्ने तथा प्यारापिट निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो । अहिले टेण्डर मुल्यांकनकै चरणमा रहेको छ ।
यस्तै संघले निर्माण गरेको सेन्ट्रल एकेडेमी समेत भदौं १ गतेबाट संचालनमा ल्याउने जनाएको छ ।
त्यस्तै संघले भदौं ६ गते संघको नियमित साधारण सभा आयोजना गर्ने जनाएको छ ।