काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबल नेपालमा लाइभ हेर्न सकिने भएको छ ।
नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने साफ फुटबल नेपालमा एपी वान एचडी टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिने भएको हो ।
एपी वानले नेपालमा प्रत्यक्ष प्रशारणको लागि बंगलादेश फुटबलसंग सम्झौता गरेको छ । सम्झौतापछि एपी वानले मंगलबार सामाजिक संजाल ट्वीटरबाट साफ फुटबल नेपालमा प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।
साफ सुजुकी कप बंगलादेशको ढाकामा सेप्टेम्बर ४ बाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर ४ मा पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
दोस्रो खेलमा नेपालले भुटानसंग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा आयोजक बंगलादेशसंग सेप्टेम्बर ८ खेल्नेछ ।
सेप्टेम्बर १५ सम्म हुने प्रतियोगिताको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह 'बी' मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार बिराज महर्जनको कप्तानीमा २० सदसीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।