काठमाडौं । एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाउन मलेसिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार अन्तिम तयारी गरेको छ । बुधबार सुरु हुने एसिया कपको लागि नेपालले मंगलबार केहि घण्टा अभ्यास गरेको छ ।
श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र अभ्यास खेल खेल्दै नेपाली टोली सोमबार नै मलेसिया पुगेका थिए । एसिया कप छनोटको लागि नेपालले श्रीलंकामा तीन अभ्यास खेल खेलेको थियो । नेपालले तीनै अभ्यास खेल जितेको थियो ।
श्रीलंकाको फस्ट क्लास क्लब श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई हराएको नेपाल उच्च मनोवलका साथ मलेसिया प्रस्थान गरेको हो । र, नेपाल एसिया कप छनोट हुने लक्ष्यमा रहेको छ ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल बुधबार बायुमास ओभलमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल बिहिबार किनरारा ओभलमा हुनेछ ।
नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग शनिबार खेल्ने छ । त्यस्तै अर्को साताको आइतबार सिंगापुरसंग खेल्ने नेपालले मंगलबार हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
नेपालको अन्तिम तयारी तस्बिरमा :