काठमाडौं । टेष्ट राष्ट्र जिम्बावेका अलराउन्डर सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्ने भएका छन् ।
राजाले दोस्रो संस्करणको इपीएल क्रिकेटमा काठमाडौं किङसबाट खेल्ने भएका हुन् । काठमाडौंले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै राजालाई अनुबन्ध गरेको जनाएको छ ।
नोभेम्बरको तेस्रो सातामा हुने इपीएलको काठमाडौंले तेस्रो विदेशी खेलाडीको रुपमा राजालाई अनुबन्ध गरेको हो । तर, काठमाडौंले अनुबन्ध रकम भने खुलाएको छैन ।
यसअघि काठमाडौंले आयरल्याण्डका केभिन ओ ब्रुएन र युएईका कप्तान रोहन मुस्तफालाई भित्र्याईसकेको छ । राजाको अनुबन्धसंगै काठमाडौंको विदेशी खेलाडीको कोटा पुरा भएको छ । इपीएलमा ३ खेलाडी राख्न पाउने नियम रहेको छ ।
सिकन्दरले जिम्बावेबाट ८५ एकदिवसीय, १० टेष्ट र २० टी-ट्वान्टी खेल खेलिसकेका छन् ।
'जिम्बावेसंग उत्कृष्ट खेलाडीहरु रहने इतिहास छ । सिकन्दर राजा एक प्रतिभाशाली खेलाडी हुन,' काठमाडौंका सीईओ राज जंग थापाले भनेका छन्, 'दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते स्पिन बलर राजा स्किल र दिमाग भएका सानदार क्रिकेटर हुन् ।'