एजेन्सी । सन् २०१९ मा आयोजना भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल सायदै क्रिकेट प्रेमीले भुल्ने छैनन् ।
घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको त्यो फाइनल कुनै रहस्यमय कथा लेख्ने कथाकारले लेखेको स्क्रिप्ट भन्दा कम थिएन ।
लर्डस क्रिकेट मैदानमा न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले स्कोर बराबरी गर्छ । स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो ।
फाइनल खेल सुपर ओभरमा गएपछि दुवै टोलीका समर्थक समेत तनाबमा देखिन्थे ।
यस्तो अवस्थामा खेलाडीको अवस्था के थियो होला ? जसले यस्तो अवस्थामा टिमलाई जिताउने जिम्मेवारी थियो ।
इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्स फाइनल खेलका हिरो थिए । जसले सुपर ओभरमा मात्र नभएर लक्ष्य पछ्याउँदा ठुलो भूमिका खेलेका थिए ।
उनै स्टोक्सले सुपर ओभर अघिको तनावपूर्ण अवस्थामा आफुलाई शान्त राख्न 'सिगरेट ब्रेक' लिएका थिए ।
सुपर ओभर समेत बराबरी भएपछि सर्वाधिक बाउन्ड्री प्रहार गरेको आधारमा घरेलु टोलीले उपाधि उचाल्यो ।
यस्तो नाटकीय खेल क्रिकेट सुरु भए देखी कहिल्यै भएको थिएन । र, आईसीसीको सर्वाधिक बाउन्ड्रीको नियमको आलोचना समेत भयो ।
नाटकीय विश्वकप फाइनल खेलको मंगलबार पहिलो वार्षिकोत्सव पुरा भएको छ ।
यसै अवसरमा 'मोर्गेन्स मेन : क्रिकेट विश्वकपको अपमानबाट महिमासम्मको भित्रि कथा' नामक एक पुस्तक सार्वजनिक भएको छ जसमा फाइनलको हरेक तनावपूर्ण क्षणको बयान गरिएको छ ।
यसै पुस्तकको अंशमा बेन स्टोक्सको 'सिगरेट ब्रेक' समेत उल्लेख छ ।
'बेन स्टोक्सले लर्ड्समा थुप्रै पटक खेलिसकेका छन् । त्यहाँको उनलाई हरेक चिज विस्तारमा थाहा छ । कप्तान मोर्गेन आफ्नो खेलाडीलाई ड्रेसिङ रुममा शान्त बनाउने प्रयास गर्दै रणनीति बनाईरहेका थिए । स्टोक्सलाई भने एक क्षण शान्त चाहिन्छ,' पुस्तकमा लेखिएको छ ।
'उनी (स्टोक्स) फोहर र पसिनाले लतपत छन् । उनले २ घण्टा २७ मिनेट तनावपूर्ण अवस्थामा ब्याटिङ गरेर आएका हुन् । उनले के गर्छन त् ? स्टोक्स ड्रेसिङ रुम पछाडिको एटेण्डेण्टको सानो अफिस छिर्छन् र सावर लिन्छन् । भित्रै उनले एउटा चुरोट सल्काउँछन् र केही समय एक्लै बिताउँछन् ।'
स्टोक्स फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उनले ८४ रनको अविजित अर्धशतकीय इनिङ्स खेल्दै इंग्ल्यान्डलाई पहिलो विश्वकप दिलाउन मुख्य भूमिका खेले ।