एजेन्सी । भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरले महेन्द्र सिंह धोनी सिमित ओभरको क्रिकेटमा सौरभ गांगुली भन्दा उत्कृष्ट कप्तान भएको बताएका छन् ।
स्टार स्पोर्ट्सको एक कार्यक्रममा गम्भीरले पूर्व कप्तान धोनी गांगुली भन्दा उत्कृष्ट भएको दाबी गरेका हुन् ।
उनले बनाएको कीर्तिमान र तीन मुख्य आईसीसी उपाधिको कारण गांगुली भन्दा धोनी उत्कृष्ट भएको गम्भीरले बताए ।
'गांगुली भन्दा धोनी सेतो बलको क्रिकेटमा उत्कृष्ट कप्तान हुन् । उपाधि हेर्ने हो भने टी-ट्वान्टी विश्वकप, च्याम्पियन्स ट्रफी र ५० ओभरको विश्वकप, धोनीले नजितेको कुनै मुख्य ट्रफी नै छैन। उनले सबै जितेका छन्,' गम्भीरले भने, 'कप्तानको हिसाबमा कीर्तिमान मात्र हेरेर हुँदैन । त्यसैले कुनै शंका बिना सेतो बलको क्रिकेटमा गांगुली भन्दा धोनी माथि छन् ।'
धोनीले सबै फर्म्याटमा भारतका लागि ३ सय ३२ खेल खेलिसकेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् । धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन् ।
भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाउन सफल धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दिलाएका छन् ।
भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफी जित्दा धोनी कप्तान थिए ।
यस्तै गम्भीरले गांगुलीकै कडा मेहनतले धोनीलाई सहयोग पुगेको समेत बताए ।
'जब गांगुलीले कप्तानको जिम्मेवारी सम्हाले त्यो बेला अनुभब नभएका खेलाडी जस्तै विरेन्द्र सेहवाग, युवराज सिंह, हर्बजन सिंह, जाहिर खान, आसिस नेहरा, मोहमद कैफ थिए,' उनले थपे, 'जब धोनीले कप्तानी जिम्मा पाए ती सबै खेलाडीले विश्वमा तहल्का मच्चाई रहेका थिए । त्यसैले यो एक कारण हो । तर, धोनीले ती खेलाडीलाई दबाब झेल्न सक्ने बनाउन सकेनन् । यद्दपी सौरभसंग सुरु गरेका अनुभवी खेलाडीको कारण धोनीले सफलता हात पारेका हुन् ।'