एजेन्सी । इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिज विजयी भएको छ ।
साउथह्याम्पटनको एजेस बाउलमा आइतबार वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।
जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १-० को अग्रता बनाएको छ ।
पहिलो टेष्टको पाँचौ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएको थियो ।
इंग्ल्यान्डबाट पाएको मध्यम लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर पुरा गर्यो ।
वेष्ट इन्डिजका लागि जेर्मानी ब्लाकवुडले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोस्टन चेसले ३७ तथा शेन डरिचले २० रन बनाए । कप्तान जासन होल्डर १४ रनमा अविजित रहे ।
इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिएपनि वेष्ट इन्डिजलाई रोक्न सकेनन् ।
यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्डको लागि ज्याक क्रलीले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे । जोफ्रा आर्चरले २३ रन बनाए ।
वेष्ट इन्डिजका शानोन गार्ब्रियलले ५ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४ रन जोडेको थियो ।
यस्तै वेष्ट इन्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय १८ रन बनाएको थियो ।
यस खेलसँगै कोरोना भाईरसको महामारीपछि स्थगित अन्तर्राष्ट्रिय क्रिकेट चार महिनापछि फर्किएको हो । कोरोनाको कारण मार्चबाट कुनै अन्तर्राष्ट्रिय क्रिकेट भएको थिएन् ।
दुई टोलीबीच तीन खेलको सिरिज हुनेछ । दोस्रो टेष्ट बिहीबारबाट म्यानचेस्टरमा सुरु हुनेछ ।