एजेन्सी । भारतका पूर्व कप्तान गौतम गम्भीरले भारतका लागि महेन्द्र सिंह धोनी भाग्यमानी कप्तान भएको बताएका छन् ।
स्टार स्पोर्ट्सको क्रिकेट कनेक्टेड नामक कार्यक्रममा बोल्दै गम्भीरले धोनी भाग्यमानी कप्तान भएको बताएका हुन् ।
धोनीको कप्तानी रहदा भारतीय टिममा उत्कृष्ट खेलाडीहरुले भरिएको कारण उनी भाग्यशाली भएको गम्भीरले बताए ।
'धोनी धेरै भाग्यमानी कप्तान हुन् । किनभने उनले हरेक फर्म्याटमा अद्भुत टिम पाए,' गम्भीरले भने, 'सन् २०११ को विश्वकपमा धोनीको लागि धेरै सहज भयो । किनकि सचिन तेन्दुलकर, विरेन्द्र शेहवाग, युबराज सिंह, युसुफ पठान, विराट कोहली र म थिए । त्यसैले उनले उत्कृष्ट टिम पाए । जसको कारण धोनीले धेरै ट्रफी जिते ।'
भारतका पूर्व कप्तान धोनीले सबै फर्म्याटमा ३ सय ३२ खेल खेलिसकेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् । धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन् ।
भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाउन सफल धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दिलाएका छन् ।
भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफी जित्दा धोनी कप्तान थिए ।