काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट अगष्ट १८ बाट सुरु हुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण अन्योलमा रहेको यस सिजनको सीपीएल अगष्ट १८ बाट सुरु हुने भएको हो । ट्रीनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर २० सम्म हुनेछ ।
ट्रीनिडाड एन्ड टोबेगो सरकारले प्रतियोगिता संचालनका लागि अनुमति दिएपछि प्रतियोगिताको मिति पक्का भएको हो ।
प्रतियोगिता बन्द रंगशालामा हुनेछ । यस्तै खेलाडी र आयोजकले सरकारको गाइडलाइन पालना गर्नु पर्नेछ ।
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् ।
गत सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।
यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।
सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।
सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।