काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट एक दिवसीय राष्ट्रको मान्यता पाएको नेपाल अर्को ऐतिहासिक सफलताको नजिक छ । विश्व क्रिकेटको पावर हाउस एसिया अनि त्यही एसियाका बलिया राष्ट्रले खेल्ने एसिया कपको छनोट खेल्न नेपाल गईरहेको छ ।
एसिया कपको छनोट जित्न सके नेपालले भारत, पाकिस्तान जस्ता राष्ट्रसंग खेल्ने मौका पाउनेछ । जुन सपना क्रिकेट प्रशंसकदेखि राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यले देखेका छन् ।
भारत पछिल्लो समय नेपाली क्रिकेट टिमले अभ्यास गर्ने थलो बनेको छ । स्थानीय र प्रदेश स्तरीय टोलीसंग खेल्दै नेपाल हरेक प्रतियोगिताका लागि आफुलाई तयार बनाउने गर्दथ्यो । यस पटक नेपाली टिमले श्रीलंकामा तयारीको मौका पाएको थियो ।
श्रीलंका भम्रणमा नेपाली टोलीले तीन वटा मैत्रिपुर्ण खेल खेल्यो । तीनवटै खेलमा नेपालले उत्कृष्ट प्रर्दशन गर्यो । व्यक्तिगत रुपमा केही खेलाडीले उच्च फर्ममा रहेको जनाउ दिदै आत्मविश्वास समेत बटुलेका छन् । जुन एसिया कपको छनोटमा देखिन सक्छ ।
श्रीलंका भ्रमणमा नेपालको प्रर्दशनमा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले राम्रो प्रर्दशन गरे । अभ्यास खेलमा सबै भन्दा धेरै विकेट सोमपालले लिए, धेरै रन दिपेन्द्रले बनाए ।
पहिलो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्लब आर्मीबिरुद्ध नेपालको ६७ रनको जित निकालेको थियो । सो खेलमा कप्तान पारस खड्का सहित केहि सिनियर खेलाडीलाई बाहिर राखिएको थियो, नयाँलाई मौका दिईएको थियो ।
सुरुवाती ब्याटिङ लाईन फितलो देखिएपनि आरिफ शेखले आफुलाई प्रमाणित गरे । ११८ बल खेल्दै उनले ८९ रनको योगदान दिए ।
यस्तै, दोस्रो खेलमा नेपालले श्रीलंकाको फस्ट क्लास क्लब ब्लुमफिल्डलाई डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १७६ रनले हराएको थियो ।
खेलमा दिपेन्द्र चम्किएका थिए । दिपेन्द्रले ९६ बलमा १२१ रन बनाएर आफुलाई भरपर्दो ब्याट्सम्यानको रुपमा प्रस्तुत गरे ।
नेपालले आफ्नो तेस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्लब कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको थियो । सो खेलमा कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । कप्तान पारसले ५७ बलमा ५८ रन जोडे । यस्तै दिपेन्द्रले अविजित ५२ रन जोडे । सोमपाल कामीले ३ विकेट लिदै आफ्नो भुमिका प्रस्ट बनाए ।
एसिया कपको छनोटमा नेपालले मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानसंग खेल्नेछ । नेपालकालागि कुनै प्रतिद्वन्द्वी नयाँ भने होईनन् । तर नेपाललाई छनोट खेल जित्न सजिलो भने छैन् ।
समान स्तरका टोलीमा सन्तुलित प्रर्दशन गर्दै नेपालले एसिया कपको ढोका उघार्न सक्छ । त्यो अवसर नेपाललाई प्राप्त छ । श्रीलंका भ्रमणले नेपाललाई सहज जितसंगै छनोट खेलका लागि आत्मविश्वास भने थपेको छ ।