डिफेन्डर प्याट्रिकलाई ४ खेलको प्रतिबन्ध
बिहिबार, असार २५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब लाजियोका डिफेन्डर प्याट्रिकलाई चार खेलको प्रतिबन्ध लागेको छ ।
सिरी 'ए' अन्तर्गत मंगलबार राति लेचेविरुद्धको खेलमा विपक्षी टोलीका जिउलियो डोनाटीलाई टोकेको कारण उनलाई चार खेलको प्रतिबन्ध गरिएको हो ।
यस्तै उनलाई १० हजार युरो जरिवाना समेत गरिएको छ ।

डोनाटीलाई टोकेपछि रेफ्रीले २७ वर्षे डिफेन्डरलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए ।
खेलको इन्जुरी समय चलिरहदा स्पेनिस डिफेन्डरले डोनाटीको काधमा टोकेका थिए । जुन खेलमा लाजियो २-१ ले पराजित भएको थियो ।
लेचेसँगको हारले लाजियोले शीर्ष स्थानको युभेन्ट्ससँगको अंक दुरी घटाउने मौका समेत गुमाएको थियो ।
घटनापछि प्याट्रिकले माफी समेत मागेका थिए ।
'मेरो व्यवहारप्रति म माफी चाहन्छु,' प्याट्रिकले इन्स्टाग्राममा लेखेका छन् ।












