पोग्बालाई युनाईटेडमै राख्ने चाहना

एजेन्सी । म्यान्चेष्टर युनाईटेडले मिडफिल्डर पाउल पोग्बालाई लामो समयसम्म क्लबमै बसेको हेर्न चाहेको छ । युनाईटेडका मुख्य प्रशिक्षक आले गुनर सोल्सायरले पोग्बा लामो समयसम्म युनाईटेड बसेको हेन चाहेको बताएका छन् ।
कोरोना भाईरसको महामारी अघि फ्रान्सेली मिडफिल्डरले क्लब छाड्न चाहेको बताएका थिए ।
२७ बर्षका विश्वकप विजेता टिमका सदस्य पोग्बा पुरानो क्लब युभेन्ट्स र स्पेनिस महारथी क्लब रियल मड्रिडसंग जोडिएका थिए ।
चोटबाट मुक्त हुँदै मैदान फर्किएका पोग्बाले युनाईटेडमा ब्रुनो फर्नान्डेससंग मिलेर राम्रो प्रर्दशन गरिरहेका छन् । दुवै मिडफिल्डर प्रेरित युनाईटेड च्याम्पियन्स लिग छनोटको दौडमा अगाडी आएको छ ।

पोग्बाको युनाईटेडसंगको सम्झौता १२ महिनामा सकिदैछ । तर क्लबले नयाँ सम्झौता नविकरणका लागि पोग्बासंग आग्रह गर्दै आएको छ ।
नेमान्जा माटिस र स्काट म्याक टोमिनेसंग लामो समयको सम्झौता गर्न सफल भएका सोल्सायर पोग्बासंग समेत सम्झौता नविकरण गर्न चाहन्छन् ।
‘हामी उत्कृष्ट खेलाडीलाई अवश्य पनि क्लबमा राख्न चाहन्छौ ।’ पोग्बाको बिषयमा सोल्सायरले भने, ‘आशा गरौ, हामी केही चिज गर्नेछौ ।’
‘म भविष्यका लागि टिम बनाउदै छु । हामीले सुरुवाती उमेरका खेलाडी हासिल गरेका छौ र अनुभवी खेलाडी राखेका छौ । तर हामीलाई मध्य उमेरका खेलाडी समेत टिममा आवश्यक छ ।’ क्लबको योजनाबारे उनले भने ।
‘पोग्बा युनाईटेड फर्किएपछि राम्रो भन्दा राम्रो बन्दै गईरहेका छन् । उनले फुटबलमा मज्जा लिईरहेका छन् । हेरौ, यसले कता लैजानेछ ।’ नर्वेजियन प्रशिक्षकले भने ।

सोल्सायरले नयाँ सिजनका लागि केही खेलाडी अनुबन्धन हुने समेत आशा राखे । बोरुसिया डर्टमण्डका जाडोन साञ्चो सहितका खेलाडीमा युनाईटेडले चासो राखिरहेको छ ।
सोल्सायरले कोरोनाका कारण बित्तिय अवस्था खराब बनेको युरोपेली क्लब फुटबलमा साञ्चोका लागि सय मिलियन पाउण्डका मुल्य धेरै हुने टिप्पणी गरेका थिए ।
‘पुरै संसार आर्थिक र सोचको रुपमा बदिलिएको छ ।’ उनले भने, ‘मैले छोटो सोचेको छैन । म सधै लामो सोचेको हुन्छु । र राम्रो सम्झौता गर्ने कोशिश गर्छु । पैसाको बिषयमा सधै सावधान रहन्छु ।’













