एजेन्सी । स्पेनिस ला लिगा फुटबलले ला लिगा क्लब रियल भालाडोलिडको नवनिर्मित मैदानको अनुसन्धान गर्ने भएको छ ।
भालाडोलिडको जोसे जोरिल्ला मैदानको चौर उप्किने समस्या देखिएपछि ला लिगाले अनुसन्धान गर्ने जनाएको हो । गत मंगलबार मात्रै उद्घाटन गरिएको मैदान पहिलो खेलमै समस्या आएको थियो ।
ला लिगाले प्रेस विज्ञप्ति निकाल्दै मैदानको जाँच गर्ने जनाएको रोयर्टसले उल्लेख गरेको छ । 'भालाडोलिड र बार्सिलोनाबीचको खेलपछि जोसे जोरिल्ला मैदानको पिचको अवस्थाको जिम्मेवार को हो र किन मैदानको न्युनतम शर्त पुरा गर्न सकेनन् । यस बिषयमा अनुसन्धान हुनेछ,' ला लिगाले विज्ञप्तिमा भनेको छ ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोना र घरेलु टोलीबीचको खेल दौरान मैदानको चौर उप्किने समस्या देखिएको थियो । जुन खेलमा बार्सिलोनाले भालाडोलिडलाई १ – ० ले हराएको थियो ।
उक्त खेलमा मैदानको समस्या आएपछि बार्सिलोनाका खेलाडीले विरोध जनाएका थिए । बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केटले मैदान समुन्द्र तट जस्तो रहेको भन्दै जाँच गर्नुपर्ने बताएका थिए ।
'मैदानका धेरै क्षेत्र समुन्द्रको तट जस्तै छ,' बुस्केटले भनेका छन्, 'यो अविश्वसनीय छ कि ला लिगाका कोहि पनि महसुस गर्दैनन् । उनीहरुले घाँसको जाँच गर्नु पर्नेछ । किनकी यो घाँसमाथी तपाई खेल्न सक्नु हुन्न ।'
भालाडोलिड यसै सिजन शीर्ष डिभिजनमा फर्किएको क्लब हो । भालाडोलिडले पछिल्लो समय सन् २०१३/१४ को सिजन ला लिगा खेलेको थियो । यो सिजन दोस्रो डिभिजनको प्ले अफबाट शीर्ष डिभिजनमा फर्किएको हो ।
यस्तै भालाडोलिडले ढिला लिगमा बढुवा हुँदा मैदान तयार गर्दा कमजोरी भएको स्विकार गरेका छन् । भालाडोलिडका म्यानेजर सर्जिओ गोन्जालेजले भने, 'हामी बढुवा हुने अन्तिम टोली थियौं। त्यसैले समयमै मैदान तयार गर्न समस्याहरु आएको हो ।'