एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले जिरोनालाई ४ - १ को फराकिलो अन्तरले हराएको छ ।
जिरोनाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता उल्टाएर रियल जित हात पारेको हो । रियलको जितमा करीम बेन्जिमाले दुई गोल गरे । यस्तै कप्तान सर्जियो रामोस र ग्यारेथ बेलले एक गोल गरे । घरेलु टोलीका बोर्जा ग्रासियाले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको १७ औं मिनेटमा ग्रासियाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ३३ औं मिनेटमा रियलका रामोसले पाएको पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा रियलले एकतर्फी खेल खेल्यो । ५२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २ - १ को अग्रता दिलाए । खेलको ५९ औं मिनेटमा बेलले गोल गर्दा रियल ३ - १ ले अघि रह्यो । त्यसपछि खेलको ८० औं मिनेटमा बेन्जिमा व्यक्तिगत दोस्रो गोल गर्दा रियलले ४ - १ को सहज जित हात पार्यो ।
यो जितसंगै रियलले २ खेलबाट ६ अंक जोडेको छ । सुरुवाती दुई चरणको खेल सकिदा रियल शीर्ष स्थानमा छ । पराजित जिरोनाको १ अंक रहेको छ ।
ला लिगा अन्तर्गत नै आइतबार राति स्पानियोलले भ्यालेन्सियालाई २ - ० ले हरायो । यस्तै सेभिया र भिया रियलले भने गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।