एजेन्सी । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले आफुलाई भारतका विराट कोहलीसँग तुलना गरेको मन नपर्ने बताएका छन् ।
इन्डो एसियन न्युज सर्भिससँग कुरा गर्दै आजमले तीनै फर्म्याटको क्रिकेटमा कोहलीले धेरै सफलता हासिल गरिसकेको कारण उनीसँग दाज्न नचाहेको बताएका हुन् ।
तर, आजमले आफुलाई पाकिस्तानी लिजेण्ड जावेद मिदाद, मोहमद युसुफ र युनिस खानसँग तुलना गरेको भने मन पर्ने बताए ।
'म आफुलाई विराट कोहलीसँग तुलना गर्न चाहन्न । यदी मानिसले मलाई पाकिस्तानी लिजेण्ड जावेद मिदाद, मोहमद युसुफ र युनिस खानसँग तुलना गर्ने भए राम्रो हुने थियो,' आजमले भने ।
पाकिस्तानको एकदिवसीय र टी-ट्वान्टी टिमका कप्तान रहेका आजम यतिबेला इंग्ल्यान्ड भ्रमणमा रहेका छन् ।
पाकिस्तानी टोलीले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।
यस्तै आजमले इंग्ल्यान्डमा टेष्ट सिरिज जित्नमा ध्यान केन्द्रित गरेको समेत बताए ।
'हामीले अघिल्लो भ्रमणमा राम्रो गरेका थियौं । त्यसैले खेलाडीहरु यस सिरिजका लागि उत्सुक छन्,' आजमले भने, 'हामी टेष्ट सिरिज जित्नमा केन्द्रित छौँ । किनकि यो हाम्रो महत्वपूर्ण भ्रमण हो ।'