काठमाडौं । एसिया कप छनोटको लागि विशेष प्रशिक्षणका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आइतबार श्रीलंकाको फस्ट क्लास क्लब कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । कप्तान पारसले ५७ बलमा ५८ रन जोडे । यस्तै दिपेन्द्रले अविजित ५२ रन जोडे । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४५, सुवास खकुरेलले २२ तथा आरिफ शेखले अविजित २३ रन जोडे । कोल्ट्सका श्रीवर्दने २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्सले ४९ ओभर ५ बलमा अलआउट हुँदै २१६ रन जोडेको थियो । कोल्ट्सका हसन हिवानायकेले ५९ रनको अर्धशतकीय इनिङस खेल्दा श्रीवर्दने ३६ रन जोडे । नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सागर पुन र करण केसीले समान २/२ विकेट लिए ।
कोल्ट्सविरुद्धको खेलसंगै मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको लागि नेपालको तयारी पुरा गरेको छ । अब नेपाली टोली सोमबार श्रीलंकाबाट मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
तस्विरमा हेर्नुस नेपालको जित :