काठमाडौं । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा जितका लागि २१७ रनको लक्ष्य प्राप्त गरेको छ ।
श्रीलंकाको फस्ट क्लास क्लब कोल्ट्स क्रिकेट क्लबले नेपाललाई जितका लागि २१७ रनको लक्ष्य दिएको हो । नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्सले ४९ ओभर ५ बलमा अलआउट हुँदै २१६ रन जोड्न सक्यो । कोल्ट्सका हसन हिवानायकेले ५९ रनको अर्धशतकीय इनिङस खेल्दा श्रीवर्दने ३६ रन जोडे । यस्तै मधुरा लेकमालले ३१ रन, विश्व चथुरारंगाले २६ तथा क्रिशन नाथनले २४ रन बनाए ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सागर पुन र करण केसीले समान २/२ विकेट लिए ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले कोल्ट्स क्रिकेट क्लबसंग अभ्यास खेल खेलेको हो ।
अघिल्ला दुई अभ्यास खेलमा जित निकालेको नेपालले अन्तिम अभ्यास खेल पनि जित्ने लक्ष्यमा रहेको छ । नेपालले यसअघि श्रीलंका आर्मी स्पोर्ट्स क्लब र ब्लुमफिल्ड क्लबलाई हराएको थियो ।
नेपालले अन्तिम अभ्यास खेल खेल्ने कोल्ट्स क्लब सन् १८७१ मा स्थापना भएको पुरानो क्लब हो । यस क्लब श्रीलंकाको उत्कृष्ट क्लबमध्ये एक क्लब हो । यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ६ पटक जितिसकेको छ ।
कोल्ट्ससंगको अन्तिम अभ्यास खेलपछि नेपाली टोली सोमबार श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।