काठमाडौं । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले तेस्रो अभ्यास खेल खेलिरहेको छ ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकाको कोल्ट्स क्रिकेट क्लबसंग उसैको मैदानमा प्रतिस्पर्धा गरिरहेको हो ।
कोल्ट्सविरुद्ध नेपालले सुरुवातमा बलिङ गरिरहेको छ । कोल्ट्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो ।
अघिल्ला दुई अभ्यास खेलमा जित निकालेको नेपालले अन्तिम अभ्यास खेल पनि जित्ने लक्ष्यमा रहेको छ । नेपालले यसअघि श्रीलंका आर्मी स्पोर्ट्स क्लब र ब्लुमफिल्ड क्लबलाई हराएको थियो ।
नेपालले अन्तिम अभ्यास खेल खेल्ने कोल्ट्स क्लब सन् १८७१ मा स्थापना भएको पुरानो क्लब हो । यस क्लब श्रीलंकाको उत्कृष्ट क्लबमध्ये एक क्लब हो । यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ६ पटक जितिसकेको छ ।
कोल्ट्ससंगको अन्तिम अभ्यास खेलपछि नेपाली टोली सोमबार श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।