काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा जित निकालेको छ । आइतबार बिहान भएको खेलमा प्याट्रियट्सले बार्बाडोस ट्रिडेन्टसलाई ६ विकेटले पराजित गरेको हो ।
अघिल्ला ४ खेलम लगातार विकेट लिन सफल सन्दीप बार्बाडोसविरुद्ध भने महंगा साबित भए । बार्बाडोसविरुद्ध सन्दीपले विकेट सकेनन् । ४ ओभर बलिङ गरेका सन्दीपले सर्वाधिक ४३ रन खर्चिएका थिए । यसअघि सन्दीपले ४ खेलमा ७ विकेट लिएका थिए ।
अब सन्दीप एसिया कप छनोट खेल्न मंगलबार मलेसिया आउने छन् । प्याट्रियट्सले प्ले अफमा स्थान बनाएको खण्डमा एसिया कप लगत्तै सन्दीप वेष्ट इण्डिज फर्कने छन् ।
बार्बाडोसले दिएको १४८ रनको लक्ष्य प्याट्रियट्सले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । प्याट्रियट्सको जितमा ब्रान्डोन किङले ६० तथा कप्तान देभोन थोमसले ३२ रन जोडे । बेन कटिङ २९ रनमा अविजित रहे । बार्बाडोसका मोहमद इरफानले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोलेपुरै २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । बार्बाडोसका कप्तान जेसन होल्डरले ५४ रनको योगदान दिए । प्याट्रियट्सका बेन कटिङ र एन्टोन डेबसिचले २/२ विकेट लिए ।
यो जितपछि सीपीएल क्रिकेटमा सन्दीपको टिम प्याट्रियट्स ५ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट ४ अंक जोडेको बार्बाडोस पाँचौं स्थानमा रहेको छ ।